इन्जोय पोखरा

घुमघामका लागि कहाँ जाने ? धेरैको मुखबाट एउटै जवाफ आउँछ- पोखरा । नवविवाहित जोडीका लागि पहिलो रोजाइ नै पोखरा नै हुन्छ । यहाँको सुन्दरता, सफा तथा स्वच्छ वातावरणले धेरैलाई लोभ्याउने गरेको छ । केही  दिनअघि प्रेमविवाह गरेका नेपालगन्जका मनोज घर्तीमगरले हनिमुनका लागि पोखरा रोजे । पोखरामै बसेर पत्रकारिता गर्दै आएका मनोजले एक महिनाअघि स्याङ्जाकी सुष्मा रानामगरसँग प्रेम विवाह गरेका हुन् ।

 'बेगनास तथा फेवाताल र कास्कीका पर्यटकीय गाउँमा भर्खर मात्र हनिमुन मनाएर फर्किएका मनोजले भने, 'वैवाहिक जीवनलाई अझ प्रगाढ बनाउन हनिमुनले गलको काम गर्छ ।' विवाहपछि दम्पती एकान्त ठाउँमा घुमघाम गरेर एक- अर्कोको भावना बुझी दाम्पत्य जीवनलाई चिरस्थायी बनाउनु नै हनिमुनको उद्देश्य भएको उनको भनाइ छ ।' यहाँका आकर्षक तालमा डुङ्गा सयर गर्नुको बेग्लै आनन्दसँगै विभिन्न दृश्यावलोकनका लागि प्रशस्त ठाउँ भएकाले पनि देश-विदेशका हनिमुन जोडीहरूको पहिलो गन्तव्य बनेको हो । विशेष गरी हनिमुन जोडीलाई फेवाताल, बेगनास ताल,  पाताले छागो, शान्तिस्तूपा, सराङकोट महेन्द्रगुफा, गुप्तेस्वर गुफा आदि स्थानले आकषिर्त गर्छ ।

 त्यस्तै आसपासका धम्पुस, घान्द्रुक, सिक्लेस आदि पर्यटकीय गाउँमा समेत हनिमुन जोडी पुग्ने गरेका छन् । 'संसारभरका मानिस आउने ठाउँमा हामी नआउने त कुरै भएन, भर्खर वैवाहिक जीवनमा बाँधिएर हनिमुन मनाउन काठमाडौ बाट पोखरा आएका एक जोडीले भने, 'यस्तो ठाउँमा हनिमुन मनाउँदाको आनन्द नै बेग्लै छ ।' उनीहरू हनिमुनलाई पतिपत्नीको सम्बन्ध बलियो बनाउने माध्यम मान्छन् ।आफ्नो वैवाहिक जीवनलाई अटुट राख्न हनिमुनमा रमाउनेहरूको योजना यहीं सहर बन्न थालेपछि पर्यटन व्यवसायीहरू पनि पोखरालाई हनिमुनको सहर बनाउन कस्सिएका छन् । त्यसो त धेरैले पोखरालाई हनिमुन सहर भनेर पनि चिन्ने  गरेका छन् । कतिपयले हनिमुनलाई फोस्रो आडम्बर र देखाउने तडभडकका रूपमा लिँदै पनि आएका छन् । हनिमुन मनाएर मात्र दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने छैन, शिवालय चोककी विष्णु भट्टराईले भनिन्, खै हामी हनिमुन नगए पनि हाम्रो  दाम्पत्य जीवन राम्रो छ ।' उनले हनिमुनलाई आधुनिकताको ढवाङ र फजुल खर्चको संज्ञा दिइन् । उनले यसो भने पनि आधुनिक पुस्ता भने विवाहपछि हनिमुन नगए जीवन सार्थक नहुने धारणा राख्छ । 

केही वर्षअघिसम्म हनिमुनका बारेमा  धेरै विवाहित जोडी अनभिज्ञ थिए । अहिले भने विवाहपछि हनिमुन जानुपर्छ भन्ने धारणा विकसित भएको छ । हनिमुनलाई गलत अर्थमा लिन नमिल्ने नवविवाहित जोडीहरू बताउँछन् । हनिमुनका लागि बुटवलबाट आएका एक जोडीले  हनिमुनले दाम्पत्य जीवनलाई प्रगाढ र आत्मीयता बढाउन मद्दत गर्ने बताए । 'यो कुनै देखावटी आडम्बर होइन, फेवातालको डुङ्गामा काँधमा काँध मिलाएर बसेका ती जोडीले भने, 'विवाहपछिको हनिमुनले वैवाहिक जीवनमा उमंग ल्याउ ँछ ।'  मंसिर, माघ, वैशाख, असार एवं विवाहको मौसममा यहाँका ताल तथा रमणीय स्थलमा नवजोडीहरू रोमान्टिक पारामा मायाप्रेम साटासाट गरिरहेका देखिन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लागि पोखरा उत्कृष्ट गन्तव्य हो, पर्यटन  व्यवसायी विप्लव पौडेलले भने, 'हनिमुनका लागि त पोखरा स्वर्ग नै हो ।' उनले विवाहको सिजनमा देश-विदेशबाट हनिमुन मनाउन आउने जोडीले होटलका कोठाहरू भरिभराउ हुने बताए ।

 सन् १९९९ अघि पोखरामा भारतबाट हनिमुन मनाउन आउने जोडी प्रशस्त हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । अहिले तेस्रो मुलुकबाट पनि हनिमुनका लागि पोखरा आउने गरेका छन् । त्यसो त खर्चको हिसाबले समेत  हनिमुनका लागि पोखरा उपयुक्त मानिँदै आएको छ । होटलहरूले हनिमुन जोडीहरूका लागी विशेष हनिमुन प्याकेजसमेत दिने गरेका छन् । हनिमुनका लागि पोखरा स्वर्ग नै हो, विप्लव पौडेलले भने, 'एकै ठाउँमा बसेर सबै ठाउँ देखिने र  सुरक्षित पनि भएकाले हनिमुन जोडीका लागी पोखरा रोजाइमा पर्छ ।' उनका अनुसार हनिमुन जोडीहरूले सामान्यतः ६ हजारदेखि १ लाखसम्म खर्च गर्ने गरेका छन् । पौडेलले भने, 'हनिमुन संस्कृतिले पोखराको पर्यटनमा सघाउ पुर्‍याएको  छ । हनिमुन हबका रूपमा पोखराको विकास गर्न स्थानीय पर्यटन व्यवसायीहरू लागिपरेका छन् ।

No comments:

Post a Comment