सर्वाधिक आकर्षक महिला र पुरुष



मुलुकका १० आकर्षक व्यक्ति -महिला-पुरुष) को होलान् ? भिन्न मानिसका भिन्न मत होलान्, तर साप्ताहिकले सामूहिकतालाई आधार मानेर केही व्यक्तिको साझा मतका  आधारमा १० आकर्षक पुरुष तथा महिलाको नाम सार्वजनिक गरेको छ । हुन त यो साप्ताहिकको दोस्रो प्रयास हो, गत वर्ष नेपाली पत्रकारितामै पहिलो पटक साप्ताहिकले  यस्तो प्रयोग गरेको थियो ।

साप्ताहिकले भ्यालेन्टाइन डेलाई लक्षित गरेर १० आकर्षक पुरुष महिला व्यक्तित्वको नाम सार्वजनिक गर्ने ट्रेन्ड प्रारम्भ गरेको छ । सानो समूहमा गरिएको सर्वेक्षणका  आधारमा हामीले आकर्षक २४ व्यक्तित्वमध्येबाट उत्कृष्ट १० सार्वजनिक गरेका छौं । सर्वेक्षणमा पुरुषतर्फ ८ र १० नम्बरमा दुई दुई जना पर्न सफल भए भने महिलातर्फ  ६ र १० नम्बरमा दुई-दुई जना छनौट भए ।

सर्वेक्षणकै आधारमा आकर्षक १० पुरुष अथवा महिला उहाँहरू नै हो भन्ने होइन, तर यी नामहरू नेपाली समाजमा आकर्षक छविका रूपमा चर्चित छन् भन्ने कुरामा दुइर् मत छैन । रूप, आकर्षक व्यक्तित्व एवं पेसागत प्रतिनिधित्वका आधारमा सर्वेक्षणमा सहभागीहरूले उत्कृष्ट १० व्यक्तिको नाम सिफारिश गरेका थिए, जसमा सबैभन्दा धेरै  मत पाउने २४ जना व्यक्ति आकर्षक १० मा समेटिएका छन् ।

सर्वेक्षणका क्रममा महिलाहरूलाई १० आकर्षक पुरुषको नाम दिन भनिएको थियो भने पुरुषहरूसँग १० आकर्षक महिलाको नाम मागिएको थियो । भूषण दाहाल सर्वेक्षणका  क्रममा आकर्षक पुरुष व्यक्तित्वका रूपमा पहिलो स्थानमा पर्न सफल भए । दोस्रो गगन थापा, तेस्रो राजेश हमाल, चौथो निमा रुम्बा, पाँचौं पारस खड्का, छैटौं हरिवंश  आचार्य, सातौं डा. बाबुराम भट्टराई, आठौं अनिल शाह र सञ्जीव उप्रेती, नवौं कमल थापा तथा दसौं डा. भोला रिजाल र प्रशान्त ताम्राकार छनौट भए ।

महिला व्यक्तित्वमा सबैभन्दा धेरै मत नायिका करिश्मा मानन्धरले पाइन् । दोस्रो झरना बज्राचार्य, तेस्रो माल्भिका सुब्बा, चौथो सदीक्षा श्रेष्ठ, पाँचौं सहाना बज्राचार्य, छैटौं  नम्रता श्रेष्ठ र दिया मास्के, सातौं मृदुला खनाल, आठौं जेनिशा मोक्तान, नवौ अञ्जु पन्त तथा दसौंमा सपना मल्ल प्रधान र ऋचा शर्मा पर्न सफल भए ।

साप्ताहिकले प्रेमदिवसका अवसरमा आकर्षक छविका पुरुष-महिला अनुहार खोज्नुको अर्को उद्देश्य नेपाली समाजमा आकर्षक व्यक्तित्वका बारेमा खुला बहस छेड्नु पनि हो ।  प्रारम्भिक चरणको यो सानो सर्वेक्षणलाई आगामी वर्षहरूमा हामीले ठूलो स्वरूपमा विकास गर्दा अझ परिष्स्कृत परिणाम आउने निश्चित छ । सर्वेक्षणका क्रममा मिडियामा  देखिएका धेरै अनुहार आकर्षक १० मा परे । मिडियामा नआएका तर आकर्षक इमेज भएका अन्य व्यक्तित्वहरू पनि छन्, जसलाई बृहत् सर्वेक्षणका क्रममा मात्र समेट्न  सकिन्छ ।

No comments:

Post a Comment