सर्वेक्षण भन्छ– ‘यौनकर्मीले सुरक्षित यौन सम्पर्कमा ध्यान दिन थाले’

 राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले काठमाडौँ र पोखरामा गरेको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको जनाएको छ ।
काठमाडौँका ५९३ र पोखराका ३५४ महिला यौनकर्मीमा गरिएको सर्भेक्षणमा सुरक्षित यौनसम्पर्कका लागि सन् २००४ मा काठमाडौँका ५७ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेकामा हाल ७३ प्रतिशत पुगेको र पोखरामा सन् २००४ मा यस्तो सङ्ख्या ३५ प्रतिशत रहेकामा हाल ६१ प्रतिशत पुगेको उल्लेख छ ।
युएसआइडीको सहयोगमा गरिएको सो सर्भेक्षणमा हाल काठमाडौँमा दुई प्रतिशत र पोखरामा तीन प्रतिशत एडस्का रोगी फेला परेको पाइएको आज आयोजित छलफल कार्यक्रममा जानकारी दिइएको थियो ।
यसैगरी सिरिन्जबाट लागुपदार्थ प्रयोग गर्ने काठमाडौँका ३४० र पोखराका ३४५ पुरुषमा  गरिएको सर्भेक्षणमा सिरिन्जको पुनःप्रयोग गर्ने क्रम घटेको बताइएको छ ।
सन् २००२ मा काठमाडौँमा सिरिन्जबाट लागुपदार्थको प्रयोग गर्ने  दुव्र्यसनी ६८ प्रतिशत रहेकामा हाल छ दशमलव तीन प्रतिशत रहेको र पोखरामा सन् २००३ मा २२ प्रतिशत रहेकामा हाल चार दशमलव ३ प्रतिशत रहेकाले सिरिन्जको पुनःप्रयोग गर्ने क्रम उल्लेखनीयरूपमा घटेको जनाइएको छ ।
छलफलमा सहभागी असुरक्षित यौन पेसा न्यूनीकरण तथा लागुपदार्थ प्रयोग नियन्त्रणका क्षेत्रका पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत पदाधिकारीले यस क्षेत्रमा गरिएको सर्भेक्षण गहिराइमा नपुगेको, लक्ष्यित वर्गलाई अनुसन्धानले समेट्न नसकेको, पीडितका समस्या यथावत् रहेको र दुई जिल्लालाई मात्र आधार बनाएर गरिएको सर्भेक्षणले समग्र नेपालको सर्भेक्षण नहुने बताए ।
सो अवसरमा स्वास्थ्यसेवा विभागका महानिर्देशक डा.यशोबद्र्धन प्रधान, केन्द्रका निर्देशक डा.रमेशकुमार खरेललगायतले राष्ट्रिय रणनीति बनाउन काठमाडौँ र पोखराका साथै पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलमा पनि सर्भेक्षण गरिने जानकारी दिनुभयो । रासस