नेपाली युवतीहरू ठूलो शरीर मन पराउँदैनन्

सानु गुरुङ नेपाली शारीरिक सुगठनको क्षेत्रमा लामो समयदेखि चर्चामा छन्। मिस्टर नेपाललगायत प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीका  उनी लगातार दुई पटकका विजेता हुन्। हङकङ बडी विल्डिङ च्याम्पियनसिपमा गत वर्ष चार उपाधि हात पारेपछि उनको चर्चा चुलिएको हो। यस वर्ष  पनि उनले सोही प्रतियोगितामा फस्ट रनर अप र बेस्ट पोजिङसहित चारै उपाधि जिते, तर उक्त प्रतियोगितामा डोपिङ टेस्टका लागि गरिएको अनुरोध  अस्वीकार गरी खेल मर्यादा उल्लंघन गरेको आरोप उनीमाथि लगाइयो। त्यसपछि खेल महासंघ तथा हङकङ चीन ओलम्पिक कमिटीले एन्टी डोपिङको  नियम २ दशमलव ३ अन्तर्गत सानुलाई दुई वर्षका लागि सबै खालका प्रतिस्पर्धामा सहभागी हुनबाट प्रतिबन्ध गर्‍यो। यद्यपि खेलकुद परिषद्ले हालै  सानुमाथिको प्रतिबन्ध फुकुवा गरेको छ। आउँदो मंसिर १२ मा आयोजना हुने 'मिस्टर हङकङ नेपाल’ शीर्षकको शारीरिक सुगठन प्रतियोगितामा सहभागी  प्रतियोगीहरूलाई प्रशिक्षण दिन हङकङ पुगेका गुरुङसँग साप्ताहिकका स्थानीय प्रतिनिधि निर्मल श्रेष्ठको कुराकानीः
प्रतिबन्धका दिनहरू कसरी बिते ?
जीवनको झन्डै आधा उमेर शारीरिक सुगठनमा बिताएको  मानिसलाई बिनाकसुर प्रतिबन्ध लगाइनु साह्रै पीडादायी हुँदोरहेछ, तर भित्री कुरा सबैलाई के  थाहा ? समाजमा शिर ठाडो पारेर हिँडडुल गर्न र बोलचाल गर्नसमेत निकै गाह्रो भयो । बाहिर हाँसे पनि भित्र निकै दुखी भएँ । व्यायाम गर्न पनि मन  लाग्दैनथ्यो, तर त्यसभन्दा पनि दुःखद पक्ष नेपाल शारीरिक सुगठन संघ र खेलकुद परिषद्को असहयोग रह्यो ।
महत्त्वपूर्ण प्रतिस्पर्धामा सहभागी हुन नपाउँदा कस्तो अनुभव हुँदो रहेछ ?

प्रतिस्पर्धामा सहभागी हुन नपाउनुको पीडा सायदै शब्दमा बयान गर्न सकुँला । एउटा खेलाडीलाई यो भन्दा ठूलो सजाय के नै हुनसक्छ र ? मैले देश र  नेपालीको नाम राख्न आफ्नै खर्चमा हङकङसम्म आएर प्रतिस्पर्धा गरी सफलतासमेत पाए, तर संघ र परिषद्ले अरू सहयोग त टाढाको कुरा बधाईका  शब्दसमेत खर्चन कञ्जुस्याइँ गर्‍यो । यस्तो व्यवहारले मलाई साह्रै दुःखित बनाएको छ ।
केही वर्षदेखि धर्मश्रीले नियमितता पाउन सकेको छैन, किन ?
संघ पदाधिकारीहरूको निष्क्रियताकै कारण यसो भएको हो । फेरि पनि सानु गुरुङ विजेता बन्छ कि भन्ने उनीहरूलाई डर छ । संघका जिम्मेवार  पदाधिकारी मेरो सफलताविरुद्ध छन् । म २०६२ र २०६४ सालको धर्मश्री विजेता हुँ । पहिलो पटक मैले त्यसअघिका धर्मश्री विजेता नरेस महर्जनलाई  हराएको थिएँ । २०६४ पछि संघले प्रतियोगिताको आयोजना गर्न सकेको छैन ।  चार वर्ष बितिसक्दासम्म प्रतियोगिता गराउन नसक्नु लाजमर्दो कुरा हो ।
तपाईंको भावी योजना ?
मैले खेल नदेखाएसम्म ममाथि लागेको दाग हट्दैन । एकपटक राष्ट्रिय स्तरको खेलमा राम्रो प्रर्दशन गरेर ममाथि सबैले देखाएको विश्वास र मायालाई  पुनः प्रमाणित गर्नु छ । तेस्रो पटक धर्मश्री जितेर ह्याटि्रक गर्ने इच्छा छ । समय र भाग्यले साथ दिए बेलायतमा हुने बडी बिल्डिङ प्रतियोगिता भिड्ने  सोचाइमा छु । त्यसपछि खेललाई अघि बढाउन एउटा राम्रो जिम हल खोल्ने वा प्रशिक्षकका रूपमा कार्य गर्ने योजना छ ।
धेरै खेलाडी चलचित्रतर्फ लागेका छन् । तपाईंलाई शरीरले पनि साथ दिएको छ । के सोचाइ छ ?
चलचित्रका प्रस्ताव नआएका होइनन् । हालैमात्र राजेन्द्र खडगीले आफ्नो एक चलचित्रका लागि प्रस्ताव गर्नुभएको थियो, तर नेपाली चलचित्रमा एउटा  मात्र गीतमा भए पनि नाच्नैपर्ने हुन्छ । म नाच्न नजान्ने भएकाले पनि खासै रुचि नभएको हो ।
सानु गुरुङ युवतीतर्फ बढी नै आकषिर्त हुन्छ भन्ने सुनिन्छ नि ?
त्यसो होइन । ताली एक हातले बज्दैन । आकर्षण दुवैतर्फ हुनु जरुरी छ । मलाई युवतीतर्फ बढी रुचि छैन । अब त उमेर पनि ढल्कियो ।
तपाईंको शरीर देख्दा युवतीहरूको प्रतिक्रिया कस्तो हुन्छ ?
नेपालका अधिकांश युवती ठूलो शरीर मन पराउँदैनन् । कतिपय युवती त यस्तो  शरीर देखेर तर्सन्छन् । नेपालभन्दा पनि विदेशका युवतीहरूले बडी  बिल्डरको दुःख बुझेका छन भन्ने अनुभव गरेको छु । यस्तो शरीर कम मेहनतले बनेको हुँदैन ।
कतिपय खेलाडी विदेश पुगेपछि उतै पलायन हुन्छन् । तपाईं बस्ने अनुमति हुँदाहुँदै पनि नेपालमै हुनुहुन्छ किन ?
अहिलेसम्म त्यस्तो आवश्यकता महसुस भएको छैन् । बेलाबखत हङकङ र बेलायतको भ्रमण गरेकै छु, तर अहिलेसम्म लामो समय देश छाडेर बस्ने यो जना बनाएको छैन । सकेसम्म नेपालमै बसेर केही गरौं भन्ने सोच छ ।

No comments:

Post a Comment